काठमाडौं । काठमाडौं महानगरपालिका–१० बानेश्वरबाट अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
साउन २१ गते राति करिब ९ बजे जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका व्यक्तिहरूलाई जाँच गर्ने क्रममा उनीहरू अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको खुलेपछि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले 1xBet Application मार्फत अनलाइन सट्टेबाजी गरी तथा गराई २ लाख ६ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेका थिए। साथै उनीहरूले ७९ हजार ६८.६५ USDT बराबर करिब १ करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ कारोबार गरेको तथा १ हजार ५०१.३२ USDT बराबर करिब २ लाख २८ हजार ८३५ रुपैयाँ मौज्दात राखेको फेला परेको छ।
उनीहरूको साथबाट पाँच थान मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–६ घर भई हाल बानेश्वर बस्दै आएका ३० वर्षीय नबिन पौडेल, १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासे रहेका छन्। उनीहरूविरुद्ध सट्टेबाजी तथा अभौतिक मुद्रा कारोबारसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
