आइतबार, २५ असोज २०८३ | १०:४८ PM
चार सवारी एकआपसमा ठोक्किँदा तीन जना घाइते

चार सवारी एकआपसमा ठोक्किँदा तीन जना घाइते

लगानीबक्स २४ साउन २०८३ १०:१२ अपराह्न

धादिङ। साउन २४ धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा हायस, टिपर, ट्याक्सी र स्कुटर एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ८८८८ नम्बरको हायस र विपरीत दिशाबाट आउँदै गरेको बा.४ ख ३९५१ नम्बरको टिपर ठोक्किएका थिए। त्यसपछि सोही दिशातर्फ गइरहेको ग.१ ज ३५११ नम्बरको ट्याक्सी तथा बा.प्र.०२–०१८ प १८५९ नम्बरको स्कुटर टिपरको पछाडि ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा हायसमा सवार तीन जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी धार्केस्थित साइबाबा सामुदायिक अस्पतालमा सामान्य उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा तनहुँको आबुखैरेनी गाउँपालिका–१ निवासी ४७ वर्षीय शिव थापा, धादिङको गजुरी गाउँपालिका–८ निवासी ६५ वर्षीय कुलप्रसाद ढुङ्गाना तथा गोरखा नगरपालिका–१३ निवासी ३६ वर्षीया सरस्वती श्रेष्ठ रहेका छन्।