कपिलवस्तु । कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत सडक छेउमा बिग्रिएर मर्मत गरिँदै गरेको ना.६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकको पछाडि लु.८२ प ८६२८ नम्बरको १५० सीसी बजाज पल्सर मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका–३ कटैयाभारी निवासी २३ वर्षीय सन्तोष कहार गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा राति ११:१३ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन्।
मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका–७ पिपरहवाका अन्दाजी ३२ वर्षीय शेषराम पासी र अन्दाजी २५ वर्षीय दुर्गेश यादव घाइते भएका छन्। दुवै जनाको चौराहा अस्पताल, बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
