काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले झापाको दमक, गौरादह तथा सुनसरीको इटहरी क्षेत्रमा विद्युत् आपूर्तिको विश्वसनीयता, भोल्टेज गुणस्तर र प्रणाली क्षमता अभिवृद्धि गर्न वितरण प्रणाली सुदृढीकरणका विभिन्न कार्यहरू अघि बढाएको छ।
प्राधिकरणका अनुसार जुरोपानी ३३/११ केभी सबस्टेशनलाई छुट्टै ३३ केभी प्रसारण लाइनमार्फत सञ्चालनमा ल्याइएपछि दमक र गौरादह वितरण केन्द्रबीचको प्रणालीगत निर्भरता घटेको छ। यसले विद्युत् प्रणालीमा देखिने खराबी (फल्ट) को प्रभाव न्यूनीकरण गर्नुका साथै आपूर्तिको विश्वसनीयता बढाउन सहयोग पुगेको छ।
यस सुधारसँगै दमक फिडरको पूर्ण सञ्चालन सम्भव भएको, दमक तथा उर्लाबारी क्षेत्रको विद्युत् आयात क्षमता वृद्धि भएको तथा समग्र प्रणाली सञ्चालन थप प्रभावकारी बनेको प्राधिकरणले जनाएको छ। यस्तै, इटहरी–खनार क्षेत्रमा फिडर विभाजन तथा नयाँ जुट विकास फिडर निर्माण गरिएकाले लामो दूरीसम्म एउटै फिडरमा रहेको विद्युत् भार घटेको छ। यसबाट ओभरलोड तथा भोल्टेज ड्रपको समस्या कम हुनुका साथै भार व्यवस्थापन, आपूर्ति पुनःव्यवस्थापन र विद्युत् सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।
प्राधिकरणका अनुसार यी सुधारात्मक कार्यहरूले दमक, गौरादह र इटहरी क्षेत्रमा थप भरपर्दो, गुणस्तरीय, सुरक्षित तथा दिगो विद्युत् आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउनेछन्।
