आइतबार, २५ असोज २०८३ | ११:४१ PM
प्युठानमा यात्रुबाहक जीप दुर्घटना, ८ जना घाइते

प्युठानमा यात्रुबाहक जीप दुर्घटना, ८ जना घाइते

लगानीबक्स २६ साउन २०८३ २:२३ अपराह्न

प्युठान । प्युठानको झिमरुक गाउँपालिका–३ लामासेरास्थित बाग्दुला–गौमुखी सडकखण्डमा यात्रुबाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। नारीकोटबाट बाग्दुलातर्फ जाँदै गरेको लु.१ ज ४८३३ नम्बरको नमस्ते प्युठान यातायातको फोर्स जीप ब्रेक फेल भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला जीपमा चालकसहित १४ जना सवार थिए।

दुर्घटनामा घाइते भएका ८ जनाको बिजुवारस्थित निमतारा पोलिक्लिनिकमा उपचार भइरहेको छ। घाइतेमध्ये गौमुखी गाउँपालिका–७ निवासी २८ वर्षीय रबी सुनारलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
जीप चालक गौमुखी गाउँपालिका–७ नारीकोटका २५ वर्षीय ऋषीराम केसी रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक र सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

घाइते हुनेमा गीता गिरी, सावित्रा परियार, लक्ष्मी विक, रबी सुनार, सीता रोका, १० वर्षीय रबिन रोका, ५ वर्षीय सरप्राइज केसी तथा गुल्मीको मदाने गाउँपालिका–१ निवासी शान्ता परियार रहेका छन्।