मंगलबार, ९ भदौ २०८३ | ४:२९ PM
मन्त्रिपरिषद्का पाँच निर्णय : विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर…

मन्त्रिपरिषद्का पाँच निर्णय : विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट

लगानीबक्स २६ साउन २०८३ ५:१७ अपराह्न

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्दै आएको स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनलाई कर छुट दिने निर्णय गरेको हो। सरकारले विद्युतीय सवारीसाधनको प्रयोग तथा स्वास्थ्य र अत्यावश्यक सेवामा विद्युतीय सवारीको पहुँच बढाउने उद्देश्यले यस्तो निर्णय गरेको हो।

बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका पाँच जनालाई सहिद घोषणा गर्ने निर्णयसमेत गरेको छ। निर्णयअनुसार सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिराहाका गनेशकुमार यादवलाई सहिद घोषणा गरिएको छ।

त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सरकारले सहमति दिने निर्णय गरेको छ। यससँगै नेपालमा पोर्चुगलको कन्सुलर सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढ्नेछ।

मन्त्रिपरिषद्ले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

त्यसैगरी, पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। यससँगै एनसेलको सेयर कारोबारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक हुने भएको छ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन २६ गतेको बैठकका मुख्य निर्णयहरू

१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने।

२. सुनसरी-सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गनेश कुमार यादवलाई सहिद घोषणा गर्ने।

३.पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) खोल्न सहमति दिने।

४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती, बारालाई नियुक्ति गर्ने।

५. पूर्वमहालेखापरीक्षक श्री टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने।