आइतबार, २५ असोज २०८३ | १२:०५ AM
रौतहटमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहटमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लगानीबक्स २७ साउन २०८३ १२:०९ अपराह्न

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिका अझै बेपत्ता रहेकी छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन २६ गते लालबकैया खोलामा नुहाउने क्रममा करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अक्तरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन डुबेर बेपत्ता भएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा ७ जना प्रहरी, सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा ५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको नेतृत्वमा रबर बोटसहितको उद्धार टोली परिचालन गरिएको थियो।

खोजी अभियानका क्रममा साउन २७ गते बिहान ७ः३० बजे महमद रमतुलाहको शव घटनास्थलबाट करिब ५ किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, सबनम खातुन पनि घटनास्थलबाट करिब ५.२ किलोमिटर दक्षिण जिंगडवास्थित खोला किनारमा मृत अवस्थामा फेला परेकी थिइन्। दुवै शव करिब २०० मिटरको दूरीमा भेटिएका थिए।

घटनामा बेपत्ता भएकी रौशन खातुनको खोजी कार्य भने अझै जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा लालबकैया खोलाको विभिन्न क्षेत्रमा खोजी अभियान सञ्चालन गरिरहेको छ।