आइतबार, २५ असोज २०८३ | १:२३ AM
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, आजै शपथ ग्रहण

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, आजै शपथ ग्रहण

लगानीबक्स २९ साउन २०८३ ११:४८ पूर्वाह्न

धनगढी। सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले एमालेको समर्थनमा बहुमत जुटाएर दाबी पेश गरेका भट्टलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था अनुसार भट्टले दाबी प्रस्तुत गरेका थिए। प्रदेश प्रमुखले दाबी पेश भएको केही समयमै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री भट्टले शुक्रबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताएका छन्। एमालेको समर्थनमा सरकार गठन गर्न सफल भएका भट्टले अब नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।