बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी एक युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा स्थानीय कर्ण थापाकी २० वर्षीया छोरी प्रतिक्षा थापा रहेकी छन्। पहिरोमा पुरिएर बेपत्ता भएकी उनको प्रहरी र स्थानीयवासीको संयुक्त खोजीका क्रममा घटनास्थलमै शव फेला परेको हो।
पहिरोमा परी त्रिवेणी नगरपालिका–९ का ४० वर्षीय धर्म थापा र सोही स्थानकी ४० वर्षीया धौलीदेवी रावल घाइते भएका छन्। दुवै जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको प्रहरीले जनाएको छ।
लगातारको वर्षासँगै आएको पहिरोले दुई वटा घर पूर्ण रूपमा पुरिएको छ। साउन २८ गते बेलुकादेखि निरन्तर परेको वर्षाका कारण उक्त पहिरो गएको बताइएको छ। स्थानीय प्रशासनले वर्षायाममा पहिरोको जोखिम उच्च रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
