आइतबार, २५ असोज २०८३ | २:४० AM
जोमसोम चेकपोष्टबाट ८ कन्टेनर र चालक नियन्त्रणमा, राजस्व अनुसन्धानका लागि…

जोमसोम चेकपोष्टबाट ८ कन्टेनर र चालक नियन्त्रणमा, राजस्व अनुसन्धानका लागि ललितपुर पठाइयो

लगानीबक्स ३० साउन २०८३ ५:०५ अपराह्न

मुस्ताङ। साउन ३० गते मुस्ताङको घरपझोङ गाउँपालिका–४ स्थित जोमसोम पर्यटक चेकपोष्टबाट शंकास्पद आठ वटा कन्टेनर र तिनका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबार दिउँसो करिब १२ बजे अवैध वस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले चेकपोष्टमा विभिन्न कन्टेनरहरूको कागजपत्र जाँच तथा चालकसँग सोधपुछ गरेको थियो।

जाँचका क्रममा ती कन्टेनरहरू भन्सार यार्डमा आवश्यक चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएपछि कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले आठवटै कन्टेनर र चालकलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाएको छ।

कन्टेनरभित्र के–कस्ता सामग्री रहेका छन् भन्ने विषयमा राजस्व अनुसन्धान कार्यालयले विस्तृत जाँच तथा अनुसन्धान गर्ने जनाएको छ।

नियन्त्रणमा लिइएका कन्टेनर तथा चालकहरूको विवरण क्रमशः:

१. ना.६ ख ४७४१ नम्बरको कन्टेनर – चालक जिल्ला धादिङ, धार्के गाउँपालिका-२ बस्ने अन्दाजी ३० वर्षीय ईश्वर थापा ।

२. को.१ ख ५६९६ नम्बरको कन्टेनर – चालक जिल्ला दोलखा, शैलुङ गाउँपालिका-३ बस्ने अन्दाजी ४३ वर्षीय रत्न बहादुर तामाङ ।

३. बा.प्र.०१००६ ख २२४८ नम्बरको कन्टेनर –  चालक जिल्ला दोलखा, भीमेश्वर नगरपालिका-८ बस्ने अन्दाजी २९ वर्षीय उद्दव बस्नेत ।

४. बा.प्र.०१००६ ख ६२७३ नम्बरको कन्टेनर –  चालक जिल्ला पाल्पा, तानसेन नगरपालिका-८ बस्ने अन्दाजी ३६ वर्षीय धर्म बहादुर नेपाली ।

५. ना.३ ख ७१६० नम्बरको कन्टेनर – चालक जिल्ला सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-२ बस्ने अन्दाजी ३५ वर्षीय कर्म शेर्पा ।

६. ना.६ ख २०२२ नम्बरको कन्टेनर –  चालक जिल्ला सिन्धुपाल्चोक, जुगल गाउँपालिका-५ बस्ने अन्दाजी ३३ वर्षीय निरोज नेपाली ।

७. बा.प्र.०१००६ ख ६६११ नम्बरको कन्टेनर –  चालक जिल्ला काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-८ बस्ने अन्दाजी २३ वर्षीय विशाल तामाङ ।

८. बा.प्र.०१–००५ ख २२४५ नम्बरको कन्टेनर – चालक जिल्ला सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका बस्ने अन्दाजी ३६ वर्षीय गोपाल श्रेष्ठ ।