आइतबार, २५ असोज २०८३ | ३:१७ AM
नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो

नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो

लगानीबक्स १ भदौ २०८३ ९:१५ पूर्वाह्न

काठमाडौं। नागपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको नक्सालस्थित नागपोखरी मा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। नाग देवताको पूजा–आराधना गर्न श्रद्धालुहरू बिहानैदेखि नागपोखरी पुगेका हुन्।

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वमा नाग देवताको पूजा गर्ने तथा घरको मूलढोकामा नागको चित्र टाँस्ने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार यस दिन नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभरि सर्प, नाग, बिच्छीलगायत जीवजन्तुको भयबाट बचिने तथा अग्नि, मेघ र चट्याङजस्ता प्राकृतिक विपत्तिबाट पनि सुरक्षा प्राप्त हुने मान्यता छ।

नागपञ्चमी हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वमध्ये एक हो। यस अवसरमा देशका विभिन्न नाग मन्दिर तथा तीर्थस्थलहरूमा पनि श्रद्धालुहरूको भीड लागेको छ। नागलाई वर्षा, जलस्रोत र वातावरणीय सन्तुलनसँग जोडेर सम्मान गर्ने परम्परा नेपाली समाजमा प्राचीनकालदेखि चलिआएको छ।