कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र ईभी स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.प्र.०१०१० प ००४५ नम्बरको ईभी स्कुटरलाई ठक्कर दिएको थियो। ट्रक नवलपरासी (सुस्ता पूर्व) कावासोती नगरपालिका–१६ डण्डाका २६ वर्षीय दिनेश गिरीले चलाइरहेका थिए भने स्कुटर कैलाली बर्दगोरिया गाउँपालिका–४ निवासी ६२ वर्षीया सावित्री देवी सापकोटाले चलाएकी थिइन्।
दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल प्रालि, मुडागाउँ लगिएको थियो। उपचारकै क्रममा बिहान ८ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि ट्रक, ईभी स्कुटर तथा ट्रक चालक गिरीलाई इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
