आइतबार, २५ असोज २०८३ | ३:३९ AM
नेपाल वायुसेवा निगमका दुई कर्मचारी विदेशी मुद्रासहित पक्राउ

नेपाल वायुसेवा निगमका दुई कर्मचारी विदेशी मुद्रासहित पक्राउ

लगानीबक्स १ भदौ २०८३ २:३२ अपराह्न

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं–२६ बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन्।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनीहरूलाई आइतबार साँझ मलेसिया जान लागेका बेला जाँचका क्रममा नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरूको साथबाट तोकिएको सीमा भन्दा बढी विदेशी मुद्रा बरामद गरेको जनाएको छ।

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार एक व्यक्तिले विदेश जाँदा ५ हजार अमेरिकी डलरभन्दा बढी बराबरको विदेशी मुद्रा लैजान पाउँदैन। तर जाँचका क्रममा जननी बज्राचार्यको साथबाट १२ हजार ३७२ मलेसियन रिंगेट र ४ हजार ३०० अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै ममता पाण्डेको साथबाट ४ हजार २०० अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिंगेट फेला परेको छ।

बरामद विदेशी मुद्रा र दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। विदेशी मुद्रा ओसारपसार तथा वित्तीय नियम उल्लंघनसम्बन्धी विषयमा अनुसन्धान जारी रहेको छ।