आइतबार, २५ असोज २०८३ | ३:३८ AM
जीप सडकबाट २०० मिटर तल खस्यो: २ जनाको मृत्यु, ४…

जीप सडकबाट २०० मिटर तल खस्यो: २ जनाको मृत्यु, ४ घाइते, चालक बेपत्ता

लगानीबक्स १ भदौ २०८३ ५:३८ अपराह्न

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पनौती–तालढुङ्गा भित्री सडकखण्ड अन्तर्गत बा १८ च २४२ नम्बरको बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो। जीपमा चालकसहित ११ जना सवार थिए।

दुर्घटनामा खानीखोला गाउँपालिका–२ की २४ वर्षीया अनिता मोक्तान र खानीखोला गाउँपालिका–४ का ६१ वर्षीय कलकबहादुर माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये भक्तपुर सूर्यविनायक–८ का २५ वर्षीय राहुल र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–९ का ५७ वर्षीय भलपति ढकालको अवस्था गम्भीर रहेको छ। अन्य घाइते प्रदीप जर्घामगर र बहुतमान रुम्बाको अवस्था मध्यम रहेको बताइएको छ।

दुर्घटनापछि चालक सिन्धुली सुनकोशी गाउँपालिकाका २८ वर्षीय यसबहादुर तामाङ सम्पर्कविहीन रहेकाले खोजी कार्य जारी रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।