आइतबार, २५ असोज २०८३ | ३:३८ AM
गुरही पर्वले प्रकृतिप्रतिको थारू समुदायको सम्मान झल्काउँछ : मन्त्री चौधरी

गुरही पर्वले प्रकृतिप्रतिको थारू समुदायको सम्मान झल्काउँछ : मन्त्री चौधरी

लगानीबक्स १ भदौ २०८३ ९:०१ अपराह्न

काठमाडौं ।  कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले गुरही पर्व थारू समुदायको संस्कृति, परम्परा र प्रकृतिसँगको गहिरो सम्बन्ध झल्काउने मौलिक पर्व भएको बताकि छन्  ।

काठमाडौमा आयोजित गुरही कार्यक्रमलाई सम्बोधन गर्दै गुरही अर्थात् गाइने किराको पूजा गर्ने परम्पराले थारू समुदाय प्रकृतिमा रहेका हरेक जीवप्रति सम्मान र संरक्षणको भावना राख्दै आएको पुष्टि हुने उनको भनाइ छ ।

मन्त्री चौधरीले गाइने किरा (Dragonfly) पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण लाभदायक जीव भएको उल्लेख गर्दै यसको संरक्षणमा ध्यान दिनुपर्ने बताएकि थिन । गाइने किराले मानिसलाई हानि पुर्‍याउने तथा रोग सार्न सक्ने विभिन्न साना किराहरू नियन्त्रणमा सहयोग गर्ने भएकाले कृषि, स्वास्थ्य र वातावरणीय सन्तुलनमा यसको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरिन ।

उनले भनिन, “हाम्रो संस्कृतिले प्रकृतिमा रहेका हरेक जीवको सम्मान गर्न सिकाउँछ । गुरही पर्वमा गाइने किराको पूजा गर्ने परम्परा हाम्रो प्रकृतिप्रतिको सम्मान र संरक्षण चेतनाको उत्कृष्ट उदाहरण हो ।”

मन्त्री चौधरीले संस्कृति र परम्परालाई संरक्षण गर्दै त्यससँग जोडिएका प्रकृति तथा जैविक विविधताको संरक्षणलाई समेत अघि बढाउनुपर्नेमा जोड दिएकि छिन । गुरही पर्वले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, प्रकृति संरक्षण र सामाजिक सद्भावबारे ज्ञान तथा चेतना प्रदान गर्ने उनको भनाइ छ ।

गुरही पर्व थारू समुदायको मौलिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैले योगदान गर्नुपर्ने मन्त्री चौधरीले बताइन । उनले गुरही पर्वले थारू समुदायमा आपसी एकता, सद्भाव र भाइचारा अझ मजबुत बनाउँदै प्रकृति संरक्षणको सन्देश फैलाउन सफल होस् भन्ने शुभकामना व्यक्त गरेको छिन्  ।