आइतबार, २५ असोज २०८३ | ४:१४ AM
प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

लगानीबक्स २ भदौ २०८३ ७:५५ पूर्वाह्न

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची तय गरिएको छ।
संसद सचिवालयका अनुसार परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कृषि, वन तथा पर्यावरणमन्त्रीले सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिनेछन्।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) पेश गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गर्ने कार्यसूची रहेको छ।

यस्तै, कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पनि संसदमा प्रस्तुत गर्नेछिन्।
यसैबीच, आज कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिसहित पाँच वटा संसदीय समितिको बैठक पनि बस्ने कार्यक्रम रहेको छ।