आइतबार, २५ असोज २०८३ | ४:३२ AM
वैदेशिक रोजगारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न शाहीको माग

वैदेशिक रोजगारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न शाहीको माग

लगानीबक्स २ भदौ २०८३ २:२८ अपराह्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा विदेशमा अलपत्र परेका नेपालीको अवस्थाबारे छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको बताए। उनले नेपालमा आएको ठूलो रेमिट्यान्सका बाबजुद श्रमिकहरूको सुरक्षा, अधिकार र समस्याप्रति राज्यले पर्याप्त ध्यान नदिएको आरोप लगाए।
शाहीका अनुसार वैदेशिक रोजगारीका क्रममा हालसम्म १६ हजार ७ सय ६० नेपालीले ज्यान गुमाएका छन्। उनले विभिन्न कन्सल्टेन्सी तथा गिरोहले युवालाई ठगी गरी विदेशमा अलपत्र पार्ने गरेको समेत दाबी गरे।

वैदेशिक रोजगारीमा हुने ठगी, श्रमिकमाथिको शोषण र विदेशमा समस्यामा परेका नेपालीको अवस्थाबारे गम्भीर अनुसन्धान आवश्यक रहेको भन्दै उनले श्रमिकको सुरक्षा, उद्धार र अधिकार संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।