आइतबार, २५ असोज २०८३ | ४:३२ AM
भन्सार छलीको सुनसहित एक जना पक्राउ, २१ लाखभन्दा बढीको सुन…

भन्सार छलीको सुनसहित एक जना पक्राउ, २१ लाखभन्दा बढीको सुन बरामद

लगानीबक्स २ भदौ २०८३ १०:४५ अपराह्न

धनगढी । कैलाली प्रहरीले भन्सार छली गरी ल्याएको सुनजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ निवासी ३६ वर्षीय दिपक गौर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले गौरले अवैध रूपमा सुनजस्तो पदार्थ कारोबारका लागि बोकेर हिँडिरहेको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१ क्षेत्रमा खोजतलास गरेको थियो। सो क्रममा उनलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको खल्तीबाट ८१ ग्राम ८८० मिलिग्राम तौलको सुनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद पदार्थको अनुमानित मूल्य २१ लाख ६२ हजार १२३ रुपैयाँ रहेको छ। प्रहरीका अनुसार गौरको साथबाट ‘निलो सुन चाँदी गहना पसल’को नाममा रहेको बिलसमेत फेला परेको थियो। तर उक्त बिलमा आधिकारिक छाप नभएको र बरामद सुनको स्रोतसमेत खुलाउन नसकेपछि भन्सार छली गरी ल्याइएको आशंकामा सुन बरामद गरिएको हो।

पक्राउ परेका गौर र बरामद सुनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कैलाली भन्सार कार्यालय, त्रिनगरमा बुझाइएको प्रहरीले जनाएको छ।