पाल्पा। तिनाउ गाउँपालिका–३ अन्तर्गत सिद्धबाबा सुरुङमार्गको पाल्पा तर्फको प्रवेश बिन्दुभन्दा करिब १०० मिटर उत्तर क्षेत्रमा माथिबाट पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त क्षेत्रमा निरन्तर पहिरो खसिरहेकाले सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरीसहित ५ जनाको टोली खटिएको छ।
राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। पहिरो पन्छाउनका लागि जेसीबी तयारी अवस्थामा राखिएको छ भने माथिबाट पहिरो खस्न रोकिएलगत्तै सडक खुलाउने कार्य सुरु गरिने बताइएको छ।
घटनास्थल प्रहरी चौकी दोभानबाट करिब १ किलोमिटर दक्षिणतर्फ पर्दछ। यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था गर्न प्रहरीले अनुरोध गरेको छ।
