दाङ, भदौ ४ । दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार गत भदौ ३ गते बेलुका करिब ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा अटोमा सवार तीन जना घाइते भएका थिए। घाइतेमध्ये अटो चालक घोराही उपमहानगरपालिका–५ बसन्तपुर निवासी ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा भदौ ४ गते बिहान २:४५ बजे मेडिकल कलेज कोहलपुर, बाँकेमा मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको र उनीहरूको उपचार भइरहेको छ। दुर्घटनामा संलग्न ट्याक्टर र चालक घोराही उपमहानगरपालिका–१७ भैसाही निवासी २३ वर्षीय हिमाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
