सोमबार, २६ असोज २०८३ | ५:४६ AM
दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालक सामुदायिक वनबाट सकुशल…

दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालक सामुदायिक वनबाट सकुशल उद्धार

लगानीबक्स ४ भदौ २०८३ १२:३८ अपराह्न

नवलपरासी । गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनअघि हराएका साढे दुई वर्षीय बालकलाई सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ। भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी घर फर्किँदा उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको पाइएको थियो।

बालक हराएपछि स्थानीय बासिन्दा तथा छरछिमेकीले वन क्षेत्रमा व्यापक खोजतलास गरेका थिए। खोजीका क्रममा बालक फेला नपरेपछि इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको थियो। बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो। स्थानीय बासिन्दासमेत खोजी अभियानमा सक्रिय रूपमा सहभागी भएका थिए।

खोजतलासकै क्रममा भदौ ४ गते बिहान करिब १० बजे बालक शिवानलाई गैँडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरान क्षेत्रमा सकुशल अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
उद्धारपछि आवश्यक प्रक्रिया पूरा गरी बालकलाई उनका आफन्तको जिम्मा लगाइएको छ। बालक सकुशल फेला परेपछि परिवारका सदस्य तथा स्थानीय बासिन्दाले राहत महसुस गरेका छन्।