शुक्रबार, ५ भदौ २०८३ | ९:१७ AM
प्रशासनिक ढिलासुस्ती रोक्न राष्ट्रिय सतर्कता केन्द्र सक्रिय, पाँच महिनामा ११…

प्रशासनिक ढिलासुस्ती रोक्न राष्ट्रिय सतर्कता केन्द्र सक्रिय, पाँच महिनामा ११ हजारभन्दा बढी कर्मचारी कारबाहीमा

लगानीबक्स ४ भदौ २०८३ १२:५५ अपराह्न

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले प्रशासनिक ढिलासुस्ती, अनुशासनहीनता तथा आचारसंहिता उल्लंघन नियन्त्रण गर्न अनुगमन र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।
केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म दर्ता भएका १ हजार २९८ उजुरीमध्ये १ हजार ११४ वटा उजुरी फर्छ्यौट गरिएको छ। यो कुल उजुरीको ८५.८२ प्रतिशत हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत विन्दुले बढी रहेको केन्द्रले जनाएको छ।

यस अवधिमा कार्यालय अनुगमनको संख्या पनि उल्लेखनीय रूपमा बढाइएको छ। अघिल्लो वर्ष सोही अवधिमा ३१८ कार्यालयमा अनुगमन गरिएकोमा यस वर्ष ९२४ कार्यालयमा अनुगमन गरिएको छ।

अनुगमनका क्रममा आचारसंहिता उल्लंघन गर्ने १० हजार २६८, तोकिएको पोसाक नलगाउने ६४५ तथा कार्यकक्षमा अनुपस्थित ९१ जना गरी कुल ११ हजार ४ कर्मचारी कारबाहीमा परेका छन्। अघिल्लो वर्षको सोही अवधिमा भने २ हजार ७७५ कर्मचारीमाथि कारबाही गरिएको थियो।

राष्ट्रिय सतर्कता केन्द्रले सरकारी निकायमा हुने भ्रष्टाचार, कर्मचारीको आचारसंहिता उल्लंघन वा शंकास्पद सम्पत्तिबारे जानकारी भए केन्द्रको हटलाइन नम्बर ०१–४२००३४५ मा सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ।