शुक्रबार, ५ भदौ २०८३ | ९:१७ AM
नेपालगञ्ज–पोखरा हवाई सेवा पुनः सञ्चालन हुने

नेपालगञ्ज–पोखरा हवाई सेवा पुनः सञ्चालन हुने

लगानीबक्स ४ भदौ २०८३ ५:४५ अपराह्न

नेपालगञ्ज । लामो समयदेखि स्थगित रहेको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले आगामी भदौ ३१ गतेदेखि उक्त उडान पुनः सुरु गर्ने जनाएको हो।
बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार यात्रुको माग बढ्दै गएपछि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। उनले भारतको उत्तर प्रदेश र पोखरालाई सिधा रूपमा जोड्ने यस सेवाप्रति पछिल्लो समय यात्रुको आकर्षण बढ्दै गएको बताए।

गत जेठ ५ गतेदेखि धार्मिक पर्यटकको सङ्ख्या घट्नु तथा इन्धन खर्च बढ्नुलाई कारण देखाउँदै उडान स्थगित गरिएको थियो। तर हाल धार्मिक पर्यटकको आगमन बढ्नुका साथै यात्रुको मागमा वृद्धि भएपछि सेवा पुनः सञ्चालन गर्न लागिएको शाहले जानकारी दिए।

बुद्ध एयरका अनुसार नेपालगञ्ज–पोखरा उडान हरेक आइतबार, बुधबार र शुक्रबार सञ्चालन हुनेछ। कम्पनीले यसका लागि अग्रिम बुकिङसमेत खुला गरिसकेको जनाएको छ।

उडान पुनः सञ्चालन हुने खबरले बाँकेका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपाल तथा भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो सेवा पर्यटन क्षेत्रका लागि महत्वपूर्ण हुने बताए।

उनका अनुसार उडान सञ्चालन भएपछि पोखरा लगायतका क्षेत्रका पर्यटकलाई नेपालगञ्जस्थित बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिक गन्तव्यमा पुग्न सहज हुनेछ। साथै बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत पश्चिम नेपालका बासिन्दालाई पोखरा तथा मुस्ताङ यात्रा गर्न पनि सुविधा पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा उडान सातामा तीन दिन सञ्चालन हुँदै आएको थियो।