जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा नलगाड नगरपालिका–१० निवासी २५ वर्षीय बालकृष्ण बोहरा रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा नलगाड नगरपालिका–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।
प्रहरीका अनुसार भदौ ४ गते साँझ करिब ६ः३० बजे नलगाड नगरपालिका–९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको थियो।
दुर्घटनापछि फरार रहेका जिप चालक नलगाड नगरपालिका–८ हलचौर निवासी २४ वर्षीय विनोद विक उर्फ विनबहादुर विकलाई प्रहरीले सोही राति खोजतलास गरी नियन्त्रणमा लिएको छ।
दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
