शुक्रबार, ५ भदौ २०८३ | २:०३ PM
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त

लगानीबक्स ५ भदौ २०८३ १२:४९ अपराह्न

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२(१) बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक कार्की यसअघि पनि नागरिक लगानी कोषको नेतृत्व सम्हालिसकेका छन्। उनी २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

कार्की नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरी कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेका अनुभवी बैंकर हुन्। उनले ग्रामीण विकास वित्तीय संस्था तथा लघुवित्त क्षेत्रको नेतृत्वसमेत गरिसकेका छन्।

सरकारले वित्तीय क्षेत्रको दीर्घ अनुभव र व्यवस्थापकीय दक्षतालाई आधार मान्दै उनलाई पुनः नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।