कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१ स्थित आन्दोलन चोकको हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट एक महिला साइकलयात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख २३६० नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा यात्रा गरिरहेकी कपिलवस्तु नगरपालिका–२ बर्गदवा निवासी अन्दाजी २२ वर्षीया निशा गद्दीलाई ठक्कर दिएको हो। ट्रक मोरङको सुनवर्षी नगरपालिका–१० निवासी ४३ वर्षीय कृष्णप्रसादले चलाएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएकी गद्दीलाई वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पताल तौलिहवा पुर्याएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार दुर्घटनामा गद्दीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। दुर्घटनामा संलग्न ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
