काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा शुक्रबार ‘नागरिक, नीति र नेतृत्व’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पार्टीका केन्द्रीय सदस्य तथा नागरिकहरूसँग समसामयिक विषय, नीति निर्माण प्रक्रिया र नेतृत्व विकासका विषयमा अन्तरक्रिया गर्नुभएको थियो।
छलफलका क्रममा सहभागीहरूले नागरिकका अपेक्षा, सार्वजनिक सेवाको गुणस्तर तथा सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउने उपायबारे आफ्ना धारणा राखेका थिए। कार्यक्रममा नीति निर्माणमा नागरिक सहभागिता बढाउने, सुशासन प्रवर्द्धन गर्ने तथा जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउने विषयमा समेत विचार–विमर्श भएको बताइएको छ।
रास्वपाले यस्ता कार्यक्रममार्फत नागरिक र नेतृत्वबीच प्रत्यक्ष संवाद स्थापित गर्दै नीति निर्माण प्रक्रियामा जनसहभागिता अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ।
