शनिबार, ६ भदौ २०८३ | ४:३० PM
बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

लगानीबक्स ६ भदौ २०८३ ३:२४ अपराह्न

चितवन । चितवनको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो करिब १२ः२३ बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३०/३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २५/२६ वर्षीया महिला गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृतकहरूको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ। दुर्घटनामा संलग्न बसका चालक सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बस तथा मोटरसाइकल दुवै प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।