काठमाडौं । जनसवाल राष्ट्रिय दैनिकले आफ्नो प्रकाशन यात्राको २० वर्ष पूरा गरेको छ । यस अवसरमा शनिबार राजधानीमा विशेष समारोह आयोजना गरी जनसवालको २०औँ वार्षिकोत्सव मनाइएको हो । सीमित स्रोतसाधन, अनेकौँ चुनौती र दृढ संकल्पका साथ दुई दशकअघि एउटा सानो प्रयास र ठूलो सपनाका साथ सुरु भएको जनसवाल आज राष्ट्रिय दैनिकका रूपमा स्थापित भएको छ । आर्थिक तथा व्यावसायिक चुनौती, बदलिँदो सञ्चार प्रविधि, डिजिटल माध्यमको तीव्र विस्तार र प्रिन्ट मिडियामाथि बढ्दो दबाबका बीच निरन्तर प्रकाशनलाई कायम राख्नु आफैंमा उल्लेखनीय उपलब्धि भएको समारोहमा सहभागी वक्ताहरूले बताए ।
वार्षिकोत्सव समारोहमा मिडिया एलायन्स नेपालका अध्यक्ष तथा एभिन्युज टेलिभिजनका अध्यक्ष भास्करराज कर्णिकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष प्रवीण गुरुङ, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, लेखा समिति पुर्व संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्यहरू सूर्य सुवेदी र अर्जुन पन्त, पूर्वकेन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायतको सहभागिता थियो । त्यस्तै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङ, महासचिव हरि डाँगी, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रामप्रसाद गैरे,नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्की, काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोरा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मा, उपाध्यक्ष रामजी खाँडलगायत वरिष्ठ पत्रकार, सञ्चारकर्मी, व्यवसायी, उद्योगी तथा जनसवालका पत्रकार र कर्मचारीहरूको उपस्थिति थियो ।
समारोहलाई सम्बोधन गर्दै मिडिया एलायन्स नेपालका अध्यक्ष भास्करराज कर्णिकारले प्रिन्ट मिडिया आर्थिक, प्रविधिगत र व्यावसायिक चुनौतीको चापमा रहेको अवस्थामा पनि जनसवालले २० वर्षसम्म आफ्नो प्रकाशन यात्रा निरन्तरता दिनु ठूलो उपलब्धि भएको बताए । डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रभाव बढ्दै गएको अवस्थामा प्रिन्ट मिडियाको अस्तित्व जोगाउँदै निरन्तर प्रकाशन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले जनसवालले विशेषगरी व्यावसायिक क्षेत्र, श्रम बजार र जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको बताए । कर्णिकारले अध्यक्ष तथा प्रधान सम्पादक रामजी बगालेसहित सम्पूर्ण जनसवाल परिवारलाई बधाई तथा शुभकामना दिँदै आगामी यात्रा अझ सशक्त, विश्वसनीय र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
एनआरएनए आईसीसीका उपाध्यक्ष प्रवीण गुरुङले जनसवालले स्वदेशमा रहेका नेपालीसँगै विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको आवाजलाई राष्ट्रिय बहससँग जोड्दै आएको बताए । प्रवासी नेपालीको श्रम, सीप, संघर्ष, उपलब्धि, अधिकार, लगानी र समस्यालाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गर्दै उनले जनसवालको भूमिकाको प्रशंसा गरे । नेपाल र विदेशमा रहेका नेपालीबीच भौगोलिक दूरी भए पनि भावना र सरोकारको दूरी हुन नहुने भन्दै गुरुङले सञ्चारमाध्यमले स्वदेश र प्रवासबीच सेतुको भूमिका निर्वाह गर्नुपर्ने बताए । आगामी दिनमा जनसवालले प्रवासी नेपालीका सवाललाई अझ प्रभावकारी रूपमा उठाउने विश्वास उनले व्यक्त गरे । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले दुई दशकसम्म राष्ट्रिय दैनिक सञ्चालन गर्नु आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताए । पत्रकार तथा सञ्चारकर्मीको सहकार्य र साथमा पत्रिकालाई निरन्तरता दिएकोमा जनसवाल परिवार तथा अध्यक्ष रामजी बगालेलाई धन्यवाद दिँदै उनले बदलिँदो प्रविधि र सञ्चारको स्वरूपसँगै चुनौती पनि थपिँदै गएको बताए ।
दाहालले जनसवाललाई ‘निमुखाको आवाज’ का रूपमा चित्रण गर्दै श्रमजीवी तथा आमनागरिकका सवाललाई निरन्तर प्राथमिकतामा राख्न आग्रह गरे । आगामी दिनमा पत्रिका अझ व्यवस्थित, व्यावसायिक र प्रभावकारी बन्ने विश्वास पनि उनले व्यक्त गरे । महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले जनसवालले प्रवास र एनआरएनएका विषयलाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा ती विषयलाई अझ सशक्त बनाउन सुझाव दिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङले जनसवालले वैदेशिक रोजगार व्यवसायी तथा विदेशमा रहेका नेपाली श्रमिकका समस्या र सरोकारलाई लामो समयदेखि निरन्तर उठाउँदै आएको बताए । वैदेशिक रोजगार लाखौँ नेपालीको जीवन, परिवार र मुलुकको अर्थतन्त्रसँग जोडिएको विषय भएकाले यस क्षेत्रका वास्तविक समस्या, चुनौती र सम्भावनालाई तथ्यपरक रूपमा सार्वजनिक बहसमा ल्याउनुपर्ने उनको भनाइ थियो ।
संघका महासचिव हरि डाँगीले वैदेशिक रोजगार व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए । जनसवालले व्यवसायी र सरकारबीच संवादको वातावरण निर्माण गर्न योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस क्षेत्रका विषयलाई प्राथमिकता दिन आग्रह गरे । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रामप्रसाद गैरेले देश निर्माणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए । पत्रकारिताले विषयवस्तुलाई सतही रूपमा प्रस्तुत नगरी तथ्य, प्रमाण र गहिरो अध्ययनका आधारमा सार्वजनिक बहसमा ल्याउनुपर्ने उल्लेख गर्दै उनले जनसवालले राष्ट्रिय सरोकारका विषयमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे । नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीले जनसवाल २० वर्ष पूरा गरेर नेपाली पत्रकारिताको यात्रामा महत्वपूर्ण चरणमा प्रवेश गरेको बताए । डिजिटल सञ्चारको तीव्र विस्तारका कारण प्रिन्ट मिडियाले चुनौती सामना गरिरहेको अवस्थामा पनि जनसवालले दुई दशकसम्म आफ्नो प्रकाशनलाई निरन्तरता दिनु प्रशंसनीय भएको उल्लेख गर्दै उनले पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गरे ।
‘जनसवालको यात्रा साझा उपलब्धि हो’
कार्यक्रममा जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक रामजी बगालेले दुई दशकको यात्रालाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण सहयात्रीको साझा उपलब्धिका रूपमा स्मरण गरे । सीमित स्रोतसाधन र कठिन परिस्थितिबाट सुरु भएको जनसवाललाई आजको अवस्थामा ल्याउन पाठक, पत्रकार तथा सञ्चारकर्मी, लेखक तथा स्तम्भकार, कर्मचारी, विज्ञापनदाता, व्यवसायी, उद्योगी, गैरआवासीय नेपाली तथा शुभेच्छुकको महत्वपूर्ण योगदान रहेको उनले बताए । ‘भुइँमान्छे’का रूपमा सुरु गरेको आफ्नो पत्रकारिताको यात्रालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैप्रति उनले हृदयदेखि आभार व्यक्त गरे । पाठकको विश्वास नै जनसवालको सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ जिम्मेवार पत्रकारितामार्फत उक्त विश्वासलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।
बगालेले पत्रकारिता समाचार प्रकाशन गर्ने माध्यम मात्र नभई समाजप्रतिको दायित्व र लोकतन्त्रप्रतिको पहरेदारीसमेत भएको बताए । आवश्यक पर्दा सत्ता र शक्तिलाई प्रश्न गर्ने, गलत प्रवृत्तिमाथि खबरदारी गर्ने तथा जनताको पक्षमा सत्य बोल्ने पत्रकारिताबाट जनसवाल विचलित नहुने उनको भनाइ थियो । आगामी दिनमा खोजमूलक पत्रकारितालाई थप सशक्त बनाउँदै तथ्यमा आधारित समाचार, विश्लेषण र जनसरोकारका विषयलाई प्राथमिकता दिने उनले बताए । विश्वभर छरिएका नेपालीका समस्या, संघर्ष, उपलब्धि, श्रम, सीप, लगानी, सामाजिक सुरक्षा तथा मातृभूमिप्रतिको योगदानलाई नेपालको राष्ट्रिय बहससँग जोड्ने कामलाई थप प्रभावकारी बनाइने उनले स्पष्ट पारे । छापा पत्रकारितासँगै डिजिटल उपस्थितिलाई थप सुदृढ बनाउँदै समय र प्रविधिको मागअनुसार पाठकमैत्री, विश्वसनीय, तथ्यपरक र प्रभावकारी सामग्री प्रस्तुत गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
समय र माध्यम परिवर्तन हुन सक्छन्, तर सत्य, तथ्य, निष्पक्षता, उत्तरदायित्व र जनहितप्रतिको प्रतिबद्धता परिवर्तन हुँदैन, बगालेले भने । दुई दशकको यात्रामा जनसवालले नेपालको राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न आयामसँगै प्राकृतिक विपत्ति, आर्थिक संकट, श्रम तथा वैदेशिक रोजगारका सवाल र विश्वभर छरिएका नेपालीका समस्या तथा उपलब्धिलाई निरन्तर सार्वजनिक बहसमा ल्याउँदै आएको छ ।
देश र समाजले भोगेका सुख–दुःख, आशा–निराशा, उपलब्धि–चुनौती तथा सम्भावना–संकटसँगै जनसवालको यात्रा पनि अघि बढेको छ । यही यात्राले जनसवाललाई आमनागरिक, श्रमिक तथा विश्वभर छरिएका नेपालीका आवाजलाई सार्वजनिक बहसमा ल्याउने सञ्चारमञ्चका रूपमा स्थापित गरेको छ । केक काटेर मनाइएको वार्षिकोत्सव समारोहमा सहभागी अतिथिहरूले जनसवालको २०औँ वर्ष प्रवेशलाई नेपाली पत्रकारितामा निरन्तरता, संघर्ष र प्रतिबद्धताको महत्वपूर्ण उदाहरणका रूपमा चित्रण गर्दै अध्यक्ष तथा प्रधान सम्पादक रामजी बगालेसहित सम्पूर्ण जनसवाल परिवारलाई शुभकामना दिए ।
विविध सांगीतिक प्रस्तुति तथा शुभकामना आदानप्रदानका साथ सम्पन्न समारोहमा सञ्चारकर्मी, पत्रकार, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता थियो । दुई दशकसम्म साथ, सहयोग, विश्वास र सद्भाव प्रदान गर्ने सम्पूर्ण पाठक, पत्रकार, सञ्चारकर्मी, लेखक, स्तम्भकार, कर्मचारी, विज्ञापनदाता, व्यवसायी, उद्योगी, वैदेशिक रोजगार व्यवसायी, गैरआवासीय नेपाली तथा शुभेच्छुकप्रति जनसवाल परिवारले हार्दिक आभार व्यक्त गरेको छ ।
संघर्षका दुई दशक, पाठकको विश्वास र निरन्तरताको अठोटसहित जनसवाल राष्ट्रिय दैनिक २१औँ वर्षमा प्रवेश गरेको छ । नेपालको पक्षमा, जनताको पक्षमा, सत्यको पक्षमा र विश्वभर छरिएका नेपालीको आवाजको पक्षमा आफ्नो कलम अझ सशक्त र निर्भीक रूपमा निरन्तर चलाउने प्रतिबद्धतासहित जनसवालको यात्रा अघि बढेको छ ।

