सोमबार, ८ भदौ २०८३ | १:३६ PM
संसदीय समितिका पाँच बैठक आज, वन्यजन्तु द्वन्द्वदेखि पर्यटन विधेयकसम्म छलफल

संसदीय समितिका पाँच बैठक आज, वन्यजन्तु द्वन्द्वदेखि पर्यटन विधेयकसम्म छलफल

लगानीबक्स ८ भदौ २०८३ १:३५ अपराह्न

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छन्। बैठकहरूमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, पर्यटन विधेयक, संक्रामक पशु रोग नियन्त्रण तथा खर्क नीतिलगायत विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

संसद् सचिवालयका अनुसार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ। बैठकमा कृषि, वन तथा वातावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ।

पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा लगानी बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ तथा नेपाल–इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिहरूसँग छलफल गरिनेछ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा नेपाल पर्वतारोहण संघसहित सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची रहेको छ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा कृषिमन्त्री, कृषि मन्त्रालयका सचिव तथा कानून मन्त्रालयका सचिवसँग ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गरिनेछ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा विज्ञ धनप्रसाद लामिछानेसँग खर्क नीतिका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।