काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले नेपालको कानुनी व्यवस्था र त्यसको कार्यान्वयन गर्ने संयन्त्रप्रति गम्भीर प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले अपराधीहरू कानुनसँग नडराउने अवस्था सिर्जना भएको भन्दै राज्यको कानुनी प्रणालीमाथि आलोचना गरे। उनले अपराधीहरूले कानुनलाई ‘गोजीमा बोकेर हिँड्ने’ अवस्था आएको टिप्पणी गरे।
देशको वर्तमान अवस्थालाई बिग्रिएको गाडी र अदक्ष चालकसँग तुलना गर्दै उनले कानुन कमजोर हो कि त्यसलाई कार्यान्वयन गर्ने निकाय कमजोर हो भन्ने प्रश्न उठाए। “हाम्रो देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे ? गाडी बिग्रेको हो कि गाडी चलाउने मान्छेले चलाउन नजानेको हो ?” उनले प्रश्न गरे।
राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले स्विस बैंकमा नेपाली भ्रष्ट नेताहरूको ठूलो रकम रहेको अभिव्यक्ति दिएको स्मरण गराउँदै त्यस्तो रकम फिर्ता ल्याउन नसक्नु सरकारको निरीहता भएको बताए। “हामी स्विस बैंकमा रहेको भ्रष्टाचारको पैसा फिर्ता ल्याउन सक्दैनौँ। यस्तो निरीहताले सुशासनको गफ व्यर्थ साबित भएको छ,” उनले भने।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली नागरिकको शवसमेत स्वदेश ल्याउन कठिनाइ हुने अवस्थाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। “विदेशमा नेपाली नागरिकको मृत्यु हुन्छ, तर उनीहरूको शवसम्म नेपाल ल्याउन सक्दैनौँ। यस्तो लाचार भएर बाँच्नुपरेको छ,” उनले बताए।
सांसद राईले कानुन निर्माण मात्र पर्याप्त नभएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन, अपराधीमाथि कडा कारबाही तथा राज्यका संयन्त्रलाई थप सक्षम र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए।

