बुधबार, १० भदौ २०८३ | १२:३१ PM
रसुवा बाढी : सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

रसुवा बाढी : सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

लगानीबक्स १० भदौ २०८३ ११:२७ पूर्वाह्न

काठमाडौं। रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र प्रहरीका एक इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन भएका छन्। बिहान करिब ९ बजे आएको भीषण बाढीले टिमुरे बजार क्षेत्रका बस्ती तथा संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) बाट ड्युटीमा खटिएका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएको स्रोतले जनाएको छ।

प्राप्त जानकारीअनुसार बीओपीमा भने बाढीले प्रत्यक्ष क्षति पुर्‍याएको छैन। बीओपीमा कार्यरत कुल ३० जनामध्ये ६ जना बिदामा रहेका थिए भने १५ जना सुरक्षित रहेका छन्। ड्युटीमा खटिएका बाँकी ९ जना बाढीपछि सम्पर्कविहीन भएका हुन्।
यसैबीच, टिमुरे क्षेत्रमा खटिएको नेपाल प्रहरीको टोलीसँग पनि सम्पर्क हुन नसकेको बताइएको छ। चीनतर्फबाट आएको ठूलो बाढीसँगै लेदो र माटो बगेर आउँदा बजार क्षेत्रका घर, पसल तथा सवारीसाधनमा व्यापक क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।
सम्पर्कविहीन सुरक्षाकर्मीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। यद्यपि, प्रतिकूल अवस्था र क्षतिका कारण घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।