काठमाडौं। रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका १४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। प्राप्त पछिल्लो विवरणअनुसार रसुवा भन्सार कार्यालयमा ३६ जनाको स्थायी दरबन्दी रहेको छ। कार्यालय प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन्।
यस्तै, भन्सार कार्यालयमा कार्यरत चार जना करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना सम्पर्कमा रहेका छन्। बाँकी तीन जना करार तथा ज्यालादारी कर्मचारीको अवस्था खुल्न सकेको छैन। हाल ११ जना स्थायी कर्मचारी तथा तीन जना करार र ज्यालादारी कर्मचारीको खोजी कार्य जारी रहेको सम्बन्धित निकायले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, स्थानीय प्रशासन तथा सम्बन्धित निकायले खोज, उद्धार र समन्वयका कार्यलाई तीव्रता दिएका छन्।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने कार्यसमेत जारी रहेको छ।

