आइतबार, २५ असोज २०८३ | ५:२४ AM
सचिव रमेश कुमार बोहराको अपिल

सचिव रमेश कुमार बोहराको अपिल

लगानीबक्स १० भदौ २०८३ ७:२१ अपराह्न

काठमाडौं । आज हाम्रो मानवता देखाउने घडी आएको छ । रसुवास्थित भोटेकोशी र त्रिशूली नदीमा तिब्बततर्फबाट अकस्मात् आएको भीषण बाढीले सिंगो देशलाई शोकाकुल बनाएको छ । बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने कैयौँ नागरिक बेपत्ता भएका छन् । डेढ दर्जनभन्दा बढी पुल, कैयौँ किलोमिटर सडक तथा बस्तीहरू बाढीको चपेटामा परेका छन् । त्रिशूली र देवीघाट बजारसमेत प्रभावित भएका छन् ।

यस्तो विपद्को घडीमा नेपाली सेना तथा निजी वायुसेवा कम्पनीका हेलिकोप्टरहरूले निरन्तर उद्धार तथा राहत कार्य गरिरहेका छन् । उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा स्थानीय नागरिकको प्रयासलाई हामी सबैले साथ र सहयोग गर्नुपर्छ । अहिले दोषारोपण गर्ने होइन, मानवता देखाउने समय हो ।

हामी सबै नेपालीले धैर्यधारण गरौँ र आ–आफ्नो ठाउँबाट सक्दो सहयोग, सद्भाव र सहकार्य गरौँ । अप्ठ्यारोमा परेका नागरिकको उद्धार तथा राहतमा सहयोग पुग्ने काम गरौँ ।
कृपया अनावश्यक, नकारात्मक वा अपुष्ट टिप्पणी नगरौँ । भाइरल हुने लोभमा विपद्को संवेदनशीलतालाई बेवास्ता गर्दै उद्धारमा बाधा पुग्ने गरी भिडियो बनाउने वा दृश्य खिच्ने काम नगरौँ ।

विपद्को यो कठिन घडीमा हाम्रो सानो सहयोग कसैका लागि जीवनको ठूलो आशा बन्न सक्छ । मानवता बचाऔँ, हातेमालो गरौँ । उद्धारमा जुटेकालाई साथ दिऔँ, पीडितको घाउमा मल्हम लगाऔँ । बोहरा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ ।