काठमाडौं । रसुवागढी क्षेत्रमा आएको भीषण बाढीले भन्सार प्रशासन तथा नेपाल–चीन व्यापारिक नाकामा ठूलो क्षति पुर्याएको छ। बुधबार साँझ ८ बजेसम्म संकलन गरिएको विवरणअनुसार भन्सार कार्यालयका कर्मचारीहरू प्रभावित भएका छन् भने केही घाइतेको उद्धार गरी काठमाडौं ल्याइएको छ।
रसुवागढी भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा धर्मराज शाही र तिलक पराजुलीलाई घाइते अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएको छ। उनीहरूको हाल नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। अर्थमन्त्रीले अस्पताल पुगेर दुवै घाइते कर्मचारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। साथै, उनीहरूसँगै उद्धार गरिएका हाइड्रोपावरका कर्मचारी धनबहादुर थापा मगरलाई पनि भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
यसैबीच, रसुवागढी भन्सार प्रमुखसहित ८ जना कर्मचारीलाई हवाई उद्धारमार्फत काठमाडौं ल्याइएको छ। उनीहरू हाल भन्सार विभागमा रहेका छन् र अर्थमन्त्रीले उनीहरूसँग भेट गरी घटनाबारे जानकारी लिनुभएको छ। भन्सार प्रशासनका अनुसार थप ८ जना कर्मचारी अझै रसुवागढी क्षेत्रमा रहेका छन्। उनीहरूको उद्धारका लागि प्रयास जारी रहेको र उनीहरू अर्थ मन्त्रालय तथा भन्सार प्रशासनसँग नियमित सम्पर्कमा रहेको जनाइएको छ।
हालसम्म प्राप्त विवरणअनुसार रसुवागढी भन्सार कार्यालयका १५ जना कर्मचारी सम्पर्कविहीन रहेका छन्। खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको सम्बन्धित निकायहरूले बताएका छन्। बाढीका कारण रसुवागढी नाकाको व्यापारिक गतिविधि, भन्सार सेवा तथा पूर्वाधारमा समेत ठूलो असर परेको छ। क्षतिको विस्तृत विवरण संकलन तथा उद्धार कार्य जारी रहेको छ।
