काठमाडौं । रसुवासहित उत्तरी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्र बनाएको जनाएको छ। विपत्तिको यस कठिन घडीमा सरकार, सुरक्षा निकाय, नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा प्रभावित नागरिकको उद्धार र राहतमा व्यापक परिचालन भइरहेको छ।
सरकारका अनुसार आज बिहान ६ः३० बजेदेखि हेलिकोप्टरमार्फत उद्धार उडान सुरु गरिएको छ। अहिलेसम्म १५ भन्दा बढी उडान सम्पन्न भइसकेका छन् भने थप हेलिकोप्टरहरू पनि तयारी अवस्थामा राखिएका छन्।
नेपाली सेनाले सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरे क्षेत्रबाट ११६ जनालाई सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसैगरी, टनेल क्षेत्रमा फसेका ७ जना नेपाली नागरिकलाई पनि सुरक्षित रूपमा उद्धार गरिएको जनाइएको छ।
प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्याउने कार्यलाई समेत तीव्रता दिइएको छ। जेनेरेटर, पोर्टेबल मोबाइल टावर, औषधि तथा मेडिकल सामग्री, टेन्ट, फलाम तथा ढुङ्गा काट्ने उपकरणलगायत आवश्यक सामग्री प्रभावित क्षेत्रमा पठाइँदै छ। सरकारले प्रभावित क्षेत्रमा छिट्टै मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गर्ने तयारी गरेको जनाएको छ। यसबाट बाढी प्रभावित नागरिक र बाहिरी संसारबीच सम्पर्क स्थापना गर्न सहज हुने अपेक्षा गरिएको छ।
नुवाकोटमा अस्थायी शिविर स्थापना गरी प्रभावित व्यक्तिहरूका लागि खाना तथा खानेपानीको व्यवस्था गरिएको छ। साथै, ड्रोन सर्वेमार्फत प्रभावित क्षेत्रको विस्तृत विवरण सङ्कलन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ, जसले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। उद्धारका क्रममा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई पहिलो प्राथमिकता दिइने सरकारले जनाएको छ। प्रभावित नागरिकलाई धैर्य र संयमका साथ राहत तथा उद्धारको प्रतीक्षा गर्न आग्रह गर्दै राज्यका सम्पूर्ण संयन्त्र परिचालित रहेको जानकारी दिइएको छ।
सरकारले विपत्तिको यस घडीमा सबै पक्षलाई एकताबद्ध भएर सामना गर्न आह्वान गर्दै उद्धार तथा राहत कार्यमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।
