काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पशुचौपायामा रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै कृषि, वन तथा वातावरण मन्त्रालयको प्राविधिक टोली प्रभावित क्षेत्रमा पुगेको छ।
पशु स्वास्थ्य संरक्षण तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले परिचालित टोलीले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी गतिविधिबारे जानकारी लिएको जनाएको छ।
त्यसैगरी, टोलीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकारीहरूसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा आवश्यक पर्ने पशु औषधि, खोप तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
मन्त्रालयका अनुसार बाढीपश्चात पशुचौपायामा संक्रामक रोगको जोखिम बढ्न सक्ने भएकाले आवश्यक औषधि तथा खोपसहितका सामग्री तत्काल उपलब्ध गराइएको छ। साथै, प्रभावित क्षेत्रमा पशु स्वास्थ्य निगरानी र उपचार सेवालाई थप प्रभावकारी बनाइने जनाइएको छ।
