आइतबार, २५ असोज २०८३ | ३:३९ AM
चेम्बरले बाढीपीडितका लागि राहत अभियान तीव्र बनायो

चेम्बरले बाढीपीडितका लागि राहत अभियान तीव्र बनायो

लगानीबक्स १२ भदौ २०८३ १:३२ पूर्वाह्न

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनाका लागि राहत अभियान तीव्र बनाएको छ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि चेम्बरले राहत संकलन तथा वितरणलाई प्राथमिकतामा राखेको हो।

चेम्बरले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। प्रभावित सर्वसाधारण, स्वदेशी तथा विदेशी यात्रु, उद्योगी–व्यवसायी र स्थानीय समुदायको साथमा रहने प्रतिबद्धता पनि जनाएको छ।

बाढीबाट घर, पसल, निजी तथा सार्वजनिक सवारीसाधन, मालवाहक सवारी, भन्सार यार्डमा रहेका सवारीसाधन, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको चेम्बरले जनाएको छ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन चेम्बरले ५० किलो पेलोड क्षमताको ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाएको छ। थप १०० किलो पेलोड क्षमताको ड्रोन पठाउने तयारी भइरहेको चेम्बरले जनाएको छ।

चेम्बरले प्रभावित क्षेत्रमा १२५ वटा पावर बैंक समेत उपलब्ध गराइसकेको छ। सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका क्षेत्रमा पावर बैंकले उद्धार तथा राहतमा खटिएका टोली र स्थानीयलाई सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चेम्बरले रसुवा, नुवाकोट तथा धादिङमा सम्बन्धित जिल्ला चेम्बरमार्फत तत्काल नगद तथा जिन्सी सहयोग उपलब्ध गराएको जनाएको छ। आवश्यकताका आधारमा थप राहत सामग्री उपलब्ध गराउने तयारीसमेत गरिएको छ।

यसैगरी, नेपाल युथ चेम्बरले बिहीबार जमलस्थित सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। आवश्यकताअनुसार रक्तदान कार्यक्रमलाई निरन्तरता दिने चेम्बरले जनाएको छ।

चेम्बरले मातहतका जिल्ला तथा नगर चेम्बर, नेपाल महिला चेम्बर, नेपाल युथ चेम्बर, विपद् व्यवस्थापन परिषद् तथा वस्तुगत संघलाई उद्धार, राहत तथा आवश्यक व्यवस्थापनमा तत्काल सक्रिय हुन आग्रह गरेको छ।

विपद्को कठिन घडीमा सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिक एकजुट भएर सहयोग गर्नुपर्ने चेम्बरको भनाइ छ। तत्काल उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा समेत आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता चेम्बरले जनाएको छ।