शनिबार, २४ असोज २०८३ | ६:४३ AM
तिब्बतमा पुनः बाढीको खतरा, नेपालमा उच्च सतर्कता आह्वान

तिब्बतमा पुनः बाढीको खतरा, नेपालमा उच्च सतर्कता आह्वान

लगानीबक्स १२ भदौ २०८३ १२:५५ अपराह्न

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पहिरोले थुनिएको अस्थायी ताल (ब्यारियर लेक) मा पानीको मात्रा निरन्तर बढ्दै गएपछि पुनः बाढी आउने जोखिम बढेको भन्दै नेपाल प्रहरीले नदी तथा खोला आसपासका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार तिब्बत क्षेत्रमा बनेको अस्थायी ताल फुट्न सक्ने जोखिम रहेको छ। यसबाट चीनतर्फ मात्र नभई नेपालतर्फ बग्ने नदी प्रणालीमा समेत पानीको बहाव अचानक बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले नदी किनार, खोला तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भव भएसम्म अग्लो र सुरक्षित स्थानमा जान तथा स्थानीय प्रशासनको सूचनालाई पालना गर्न अनुरोध गरेको छ।

केही दिनअघि तिब्बत क्षेत्रमा हिमनदी (ग्लेसियर) भत्किएपछि आएको भीषण बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। उक्त विपद्पछि अझै पनि खोज, उद्धार तथा राहतका कार्यहरू जारी रहेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पहिरो र अवशेषले नदी थुनिएर बनेको तालमा करिब ३० लाख घनमिटर पानी थपिने अनुमान गरिएको छ। पानीको मात्रा बढ्दै जाँदा ताल फुट्न सक्ने जोखिम बढेकाले उद्धारकर्मीहरूलाई समेत नदी आसपासका क्षेत्रबाट सुरक्षित स्थानमा सार्न थालिएको छ।