काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका विभिन्न भू–भागमा मेघगर्जन, चट्याङ्गसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा जारी रहने अनुमान छ। तराईका केही स्थानमा समेत वर्षा हुन सक्ने जनाइएको छ।
