काठमाडौं । गत बुधबार रसुवामा आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये केहीको शव तथा शरीरका अंगहरू विभिन्न स्थानमा नदी किनारमा भेटिन थालेका छन्। बाढीका कारण बैंक तथा वित्तीय संस्थामा कार्यरत धेरै कर्मचारी अझै सम्पर्कविहीन रहेको अवस्थामा शनिबार धादिङ आसपास त्रिशूली नदी किनारमा एक महिलाको पाखुरामुनिको हात मात्र फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त हात कसको हो भन्ने विषयमा सामाजिक सञ्जालमार्फत आफन्तजनलाई पहिचानका लागि आग्रह गरिएको थियो। भेटिएको हातमा धातुको बाला तथा ‘गोपाल’ लेखिएको ट्याटु स्पष्ट देखिन्थ्यो।
सामाजिक सञ्जालमा तस्वीर व्यापक रूपमा सार्वजनिक भएपछि उक्त हात रसुवास्थित मुक्तिनाथ विकास बैंकमा कार्यरत कर्मचारी सुन्दरी श्रेष्ठको भएको खुलेको छ। यसअघि बैंकले पनि बाढीपछि सुन्दरी श्रेष्ठ सम्पर्कविहीन रहेको जानकारी दिएको थियो।
मुक्तिनाथ विकास बैंकका जनकपुर क्षेत्रीय कार्यालय प्रमुख विनयरत्न शाक्यले सामाजिक सञ्जालमार्फत सुन्दरी श्रेष्ठलाई बैंकले सम्मान गरेको पुरानो तस्वीर र भेटिएको हातको तस्वीर सार्वजनिक गर्दै, “तपाईं सधैं सम्झनामा रहनुहुनेछ म्याडम, हार्दिक श्रद्धाञ्जली” लेखेका छन्।
रसुवाको बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहे पनि नदीले बगाएर ल्याएका शव तथा शरीरका अंगहरू विभिन्न जिल्लामा भेटिन थालेपछि प्रभावित परिवारको पीडा थप बढेको छ।
