काठमाडौं । युक्रेनको राजधानी किभनजिकै रहेको सैन्य हतियार तथा गोलाबारुद भण्डारण केन्द्रमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। घटनापछि करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको छ।
क्षेत्रीय सैन्य प्रशासन प्रमुख तैमुर त्काचेन्कोका अनुसार घाइतेमध्ये चार जना बालबालिका रहेका छन्। शुक्रबार राति किभको पश्चिमस्थित बुचा जिल्लाको एक गोदाममा रुसी ड्रोन ठोक्किएपछि त्यहाँ भण्डारण गरिएका शेल, माइन्स तथा ड्रोनमा प्रयोग हुने विष्फोटक पदार्थहरूमा शृंखलाबद्ध विस्फोट भएको थियो।
विस्फोट र त्यसपछि लागेको भीषण आगोका कारण नजिकै रहेको वृद्ध तथा अपांगता भएका व्यक्तिहरूको हेरचाह केन्द्रसहित करिब १३० वटा घरमा क्षति पुगेको छ। मृतकमध्ये ३४ जना वृद्धाश्रममा बसोबास गरिरहेका व्यक्तिहरू रहेको जनाइएको छ।
युक्रेनी राष्ट्रपति Volodymyr Zelenskyy ले सर्वसाधारण बसोबास गर्ने क्षेत्रनजिकै विस्फोटक पदार्थ र गोलाबारुद भण्डारण गर्नु गम्भीर लापरबाही भएको बताएका छन्। युक्रेनी कानुनअनुसार आवासीय क्षेत्र नजिक हतियार भण्डारण गर्न नपाइने भएकाले सुरक्षा सेवाले घटनासँग सम्बन्धित जिम्मेवार अधिकारीहरूमाथि आपराधिक अनुसन्धान सुरु गरेको जनाएको छ।
यता रुसले उक्त गोदाममा युक्रेनका लामो दूरीका एफपी–१ र एफपी–२ ड्रोनका कम्पोनेन्ट तथा बुस्टरहरू राखिएको दाबी गर्दै ‘गेरान–४’ ड्रोनमार्फत लक्षित आक्रमण गरिएको जनाएको छ।
