आइतबार, २५ असोज २०८३ | १:५७ AM
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य तीव्र

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य तीव्र

लगानीबक्स १४ भदौ २०८३ १०:३८ पूर्वाह्न

काठमाडौं । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्यलाई तीव्रता दिइएको छ। उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ।

आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रतिनिधि तथा साइट इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको हो। टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गर्दै सुरक्षित रूपमा उद्धार अभियान सञ्चालन गरिरहेको जनाएको छ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन विभिन्न सरकारी तथा प्राविधिक निकायबीच आवश्यक समन्वयसमेत भइरहेको छ। प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल बनेको भए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको बताइएको छ। सम्बन्धित निकायले उद्धार कार्यलाई निरन्तरता दिँदै प्रभावित क्षेत्रको अवस्थाबारे नियमित अनुगमन गरिरहेको जनाएको छ।