आइतबार, २५ असोज २०८३ | १:४७ AM
त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको प्रयास तीव्र, केबल आउटलेट टनेलबाट प्रवेश…

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको प्रयास तीव्र, केबल आउटलेट टनेलबाट प्रवेश गर्ने तयारी

लगानीबक्स १४ भदौ २०८३ ४:१६ अपराह्न

काठमाडौं । बाढीका कारण प्रभावित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धार कार्यलाई तीव्रता दिइएको छ। उद्धार टोलीले केबल आउटलेट टनेलमार्फत सुरुङभित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिक, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मी घटनास्थलमा खटिएका छन्। सुरुङभित्र प्रवेशका लागि अवरोध बनेका संरचना हटाउने कार्य जारी रहेको जनाइएको छ।

उद्धार टोलीले सुरुङको क्राउन (माथिल्लो भाग) पहिचान गरेको छ। उक्त भागलाई एक्साभेटर प्रयोग गरी फुटाएर खुलाउने काम भइरहेको छ। अवरोध हटाई सुरक्षित रूपमा सुरुङभित्र प्रवेश गर्न सकिने अवस्था सिर्जना भएपछि उद्धारकर्मीलाई भित्र पठाउने तयारी गरिएको छ।

उद्धार कार्यलाई छिटो र सुरक्षित रूपमा सम्पन्न गर्न प्राविधिक तथा सुरक्षा निकायका टोलीहरू निरन्तर परिचालन भइरहेका छन्।