काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ।
भेटका क्रममा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका खोज तथा उद्धार, राहत वितरण र प्रभावित नागरिकको व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।
उहाँहरूबीच बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत सामग्रीको प्रभावकारी वितरण तथा क्षति पुगेका भौतिक संरचनाको पुनःस्थापनाका लागि आवश्यक कदमबारे पनि विचारविमर्श भएको थियो।
भेटमा प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच सुनिश्चित गर्न तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिन सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराउनुभएको थियो। सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाएको प्रधानमन्त्री शाहको भनाइ रहेको छ।
