आइतबार, २५ असोज २०८३ | १:०४ AM
रसुवा बाढी उद्धारमा प्रकाश पन्तको महत्वपूर्ण भूमिका, नेपाल–दक्षिण कोरिया सहकार्यको…

रसुवा बाढी उद्धारमा प्रकाश पन्तको महत्वपूर्ण भूमिका, नेपाल–दक्षिण कोरिया सहकार्यको उदाहरण

लगानीबक्स १५ भदौ २०८३ १०:३७ अपराह्न

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार अभियानमा नेपाली नागरिक प्रकाश पन्तले निर्वाह गरेको समन्वयकारी भूमिकाले नेपाल–दक्षिण कोरियाबीचको मानवीय सहकार्यलाई थप मजबुत बनाएको छ। कोरियाली नागरिकको खोजीका साथै बाढी प्रभावित नेपाली नागरिकको उद्धार तथा उत्खनन कार्यमा सहयोग गर्न कोरियाली टोली रसुवा परिचालित भएको अवस्थामा पन्तले नेपाली पक्षबाट प्रभावकारी सहजीकरण गर्दै अभियानलाई व्यवस्थित बनाउन महत्वपूर्ण योगदान दिएका छन्।

दैलेखको दुल्लु नगरपालिका–१२ का स्थायी बासिन्दा पन्तले कोरियाली उद्धार टोली, सम्बन्धित कम्पनी व्यवस्थापन, स्थानीय सरोकारवाला, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा अन्य सरकारी निकायबीच आवश्यक समन्वयको जिम्मेवारी सम्हालेका थिए। विपद्को जटिल अवस्थामा विभिन्न पक्षबीच सूचना आदानप्रदान, भाषा अनुवाद, सञ्चार व्यवस्थापन तथा उद्धार टोलीको परिचालनलाई सहज बनाउने काममा उनको सक्रिय भूमिका रहेको बताएको छ।

बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याए साथ  धेरै मानिस बेपत्ता भएका छन् भने भौतिक संरचना, सडक सञ्जाल र जनजीवनमा गम्भीर असर परेको छ। यस्तो चुनौतीपूर्ण अवस्थामा विदेशी उद्धार टोलीलाई स्थानीय परिस्थिति बुझ्न, सम्बन्धित निकायसँग समन्वय गर्न र प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा परिचालन हुन सहज वातावरण आवश्यक थियो। यही आवश्यकतालाई मध्यनजर गर्दै पन्तले नेपाली र कोरियाली पक्षबीच पुलको भूमिका निर्वाह गरेका हुन्।

उद्धार कार्यमा संलग्न स्रोतका अनुसार पन्तले कोरियाली टोलीलाई प्रभावित क्षेत्रसम्म पुग्न आवश्यक समन्वय गर्नुका साथै स्थानीय प्रशासन र सुरक्षा निकायसँग निरन्तर सम्पर्कमा रही अभियानलाई प्रभावकारी बनाउन सहयोग गरेका छन् । भाषा र संस्कृतिको भिन्नताका कारण उत्पन्न हुन सक्ने कठिनाइलाई न्यून गर्दै उनले दुवै पक्षबीच विश्वास र सहकार्यको वातावरण निर्माण गरेका थिए।

कोरियाली टोलीले हराइरहेका आफ्ना नागरिकको खोजीका साथै प्रभावित नेपाली नागरिकको उद्धार तथा  खोज कार्यमा समेत सहयोग गरिरहेको छ। यसले विपद्को समयमा अन्तर्राष्ट्रिय सहयोग र मानवीय एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सरोकारवालाहरूको भनाइ छ। संकटका बेला राष्ट्रियताको सीमाभन्दा माथि उठेर मानव जीवनको रक्षाका लागि गरिएको सहकार्यले विश्व समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

स्थानीयवासीहरूले पनि उद्धार अभियानमा प्रकाश पन्तले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। विदेशी टोली र नेपाली निकायबीच प्रभावकारी समन्वय हुँदा उद्धार कार्य थप व्यवस्थित र परिणाममुखी बनेको उनीहरूको भनाइ छ। कठिन परिस्थितिमा उनले देखाएको सक्रियता, जिम्मेवारी र मानवीय संवेदनशीलता अनुकरणीय रहेको बताएको छ।

विपद्का बेला समन्वय, सहकार्य र शीघ्र निर्णय क्षमताले नै उद्धार अभियानको सफलता निर्धारण गर्ने गर्दछ। रसुवा बाढीपछिको उद्धार अभियानमा प्रकाश पन्तले निर्वाह गरेको भूमिका त्यही समन्वय र मानवीय सेवाको उदाहरणका रूपमा हेरिएको छ। उनका प्रयासले नेपाली र अन्तर्राष्ट्रिय टोलीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुका साथै संकटमा परेका नागरिकको जीवनरक्षा अभियानलाई समेत  अडान पुर्‍याएको छ।

मानवताको सेवामा गरिएको प्रत्येक प्रयास महत्वपूर्ण हुने सन्देश यस अभियानले दिएको छ। संकटको घडीमा सीमाना, भाषा र राष्ट्रियताको भिन्नताभन्दा माथि उठेर गरिने सहकार्यले नै जीवन बचाउन र आशा जगाउन सक्ने तथ्य रसुवाको यस उद्धार अभियानले पुनः प्रमाणित गरेको छ।