शुक्रबार, २३ असोज २०८३ | ५:३६ AM
भोटेकोशी बाढी : मृतक संख्या ९८७ पुग्यो, ३,९१६ जना अझै…

भोटेकोशी बाढी : मृतक संख्या ९८७ पुग्यो, ३,९१६ जना अझै सम्पर्कविहीन

लगानीबक्स १६ भदौ २०८३ १:१४ अपराह्न

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १६ गते बिहान ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट हालसम्म ९८७ जनाको शव फेला परेको जनाएको हो।

प्राधिकरणका अनुसार चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, गोरखामा ६५, नुवाकोटमा ९५, धादिङमा ५५, तनहुँमा ३८ तथा रसुवामा २७ जनाको शव फेला परेको छ।

बाढीपछि हालसम्म ३,९१६ जना नागरिक सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनमध्ये जलविद्युत् आयोजनासँग सम्बन्धित ६३९ जना, ५८३ जना विदेशी नागरिक, रसुवाका ८६५ जना स्थानीय बासिन्दा, विदेशी पर्यटकसँग गएका १६४ जना नेपाली, नुवाकोटका १,५५८ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना तथा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र भन्सार तथा अध्यागमन कार्यालयका १०७ जना सुरक्षाकर्मी र कर्मचारी रहेका छन्।

विपद्पछि तीव्र बनाइएको उद्धार अभियानअन्तर्गत हालसम्म ११ हजार ८१४ जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धार कार्यमा नेपाल सेनाका ८,८९६, नेपाल प्रहरीका ७,९१२ र सशस्त्र प्रहरी बलका ४,२०३ गरी कुल २१,०११ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसैबीच, पहिचान हुन बाँकी रहेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको जनाइएको छ। ती शवहरूको विवरण नेपाल प्रहरीको विपद् पोर्टल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ। सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।