काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार २५२ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १८ गते अपराह्न १२ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट हालसम्म १,२५२ जनाको शव फेला परेको जनाएको हो।
प्राधिकरणका अनुसार चितवनमा ३५५, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, गोरखामा ६९, नुवाकोटमा १७७, धादिङमा ३०, तनहुँमा ३८ तथा रसुवामा १२७ जनाको शव फेला परेको छ। बाढीका कारण हालसम्म ४ हजार २१६ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनमध्ये ९०० जना जलविद्युत् आयोजनासँग सम्बन्धित व्यक्ति, ५८३ जना विदेशी नागरिक, रसुवाका ८६५ जना स्थानीय, विदेशी पर्यटकसँग गएका १६४ जना नेपाली, नुवाकोटका १ हजार ५५८ जना, लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका ३ जना तथा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र भन्सार तथा अध्यागमन कार्यालयका गरी १०० जना सुरक्षाकर्मी तथा कर्मचारी रहेका छन्।
विपद्पछि तीव्र रूपमा सञ्चालन गरिएको उद्धार अभियानअन्तर्गत हालसम्म ११ हजार ९९३ जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उद्धार तथा खोजी कार्यका लागि नेपाल सेनाका ९ हजार १९९, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २१ हजार ३१४ जना सुरक्षाकर्मी परिचालन भएका छन्।
पहिचान हुन बाँकी शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको छ। ती शवहरूको विवरण नेपाल प्रहरीको विपद् पोर्टल तथा प्राधिकरणको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ।
सरकारले खोजी, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ भने सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यलाई थप तीव्र बनाइएको छ।
