काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये एक जनाको अवस्था सामान्य रहेको छ भने अर्का एक जनाको अवस्था जटिल रहेको नेपाली सेनाले जनाएको छ।
जटिल अवस्थामा रहेका कबीर महर्जनलाई उद्धारलगत्तै काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार थालिएको छ। उहाँ दोस्रो पटकको उद्धार अभियानमार्फत सुरुङभित्रबाट बाहिर निकालिनुभएको थियो।
यसैगरी, सुरुमा उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। अवस्था स्थिर भए पनि थप स्वास्थ्य परीक्षणका लागि उहाँलाई पनि वीरेन्द्र सैनिक अस्पताल ल्याइँदै छ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य प्राविधिक विज्ञहरूको संयुक्त टोलीले बुधबार बिहान उद्धार अभियान सञ्चालन गरी दुवै जनालाई सुरक्षित बाहिर निकालेको हो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंकामा उद्धार टोलीले लगातार खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएको थियो। लामो प्रयासपछि दुवै जनाको सफल उद्धार गरिएको हो।

