काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवित उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा सञ्चालन गरेको उद्धार अभियानमा उहाँलाई सुरुङभित्रबाट सुरक्षित रूपमा बाहिर निकालिएको हो। उद्धारपछि उहाँलाई नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकतर्फ ल्याइँदै गरिएको जनाइएको छ।
बाढी आएको ११औँ दिनमा गरिएको यो उद्धारले सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यमा थप आशा जगाएको छ। यसअघि पनि त्रिशुली क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङहरूबाट केही कामदारको जीवित उद्धार गरिएको थियो भने उद्धार टोलीले अझै हराइरहेकाहरूको खोजीलाई तीव्र बनाएको छ।
